Monday, April 21, 2014

साइकलमा नयाँबर्ष - सहर-गाउँ, सम्पदा र प्रकृतिसंगसंगै ! - ४

नाला भन्ज्यांग पार गरे संगै अब हामी भक्तपुर छोडेर काभ्रे जिल्ला प्रवेश गर्यौं।  ओरालोले कतै कतै रोलार्कोष्टर झैँ अनुभूति गरायो।  दुई डाँडाको बीच फाँटमा खेतका आली संगै जोडिएको बाटो, खेतमा गहुँ पँहेलिएर पाक्ने तरखर, पहाडको भित्ताहरुमा बस्ति, बाटोमा फाट्टफुट्ट पसल,  केहि ग्राभेल बाटो।  कतै नझुक्किने तर निकै उफार्ने, दौडियौं।  तल एक बस्ति आयो, दाहिने झर्यौं।  अनि बस्ति बाक्लियो।  हाम्रो बाटोले अर्को ठूलोबाटो भेटायो, थोरै अरु दाहिने मोडेको त बनेपा चोक आइपुग्यो।

थोरै ठण्डी बाँकी थकान।  तात्तातो र पिरोखाने मन भयो।  हामी नेवारी खाजा घर खोज्दै पस्यौं।  साइकल बाहिर रेलिङ्गमा बाँधेर छोड्यौं।  अरु बाफ मःमः मा रमाए, मैले आलु परिकारमा चित्त बुझाएँ।  'चिस्स्सो ड्रिक्स छ?" 'बत्ति थिएन, भर्खर आयो।  चिस्स्स्सो त छैन।" पसलेको जवाफ।  'ल जस्तो भएनी दिनोस तेसोभे  ' अर्को उपाय थिएन। 'हामी यति टाढा न आउनुपर्ने। भोलि कसरी फर्किने? गार्हो पो होला जस्तो छ।' अब चिन्ता सुरु भयो।  यताबाट धुलिखेल पनि त उकालै छ। अनि होटेलको टुंगो पनि  छैन। आज नयाबर्षको प्रोग्रामले होटेल त प्याक।  चिन्ता थपियो। संजिवले फोनमार्फत कतै सम्पर्क प्रयास गरे। यौटा होटेलको कुरो आयो।  'जे भएपनि आज तातो पानी आउने  होटेलमा बस्तु पर्छ।' तातोले सेके केहि बिसेक हुने आस पलाएको हुनु पर्छ राजेशलाई।

हामी हिड्ने तरखरमा बाहिर निस्किदा पानी परिरहेको।  बर्शादि थिएन, ओत लाग्यौं।  एकछिनमै रोकियो। पानीले पुछेर कालो पारेको रसिलो बाटोमा हामी धुलिखेलतिर लाग्यौं।  केहि बेरमै  उकालो शुरु भयो।  हामीले कसेर तन्यौं।  केयु चोक नजिक पुग्दा पानी फेरी बर्सियो।  हामी एउटा चिया पसल छिर्यौँ।  एककप चियामा मेघ रोकियो र हामी हिड्यौं।  यता उकालो दिगो थियो।  गियर मिलाएर एकनासको रफ्तारमा म अघिअघि कुदें। र माथि पर्खिदा अँध्यारो भैसकेको थियो।  सन्जिव र राजेश होटेलसंग कुरा गर्न गए।  निकै महँगो भन्यो।  प्याकेज एकजनाको रु ४,५००/- न घट्ने। त्यहि होटेलले अरुबेला रु १,५०० मा उही प्याकेज दिन्थ्यो । मौकाको लूट।  हामी अन्त खोज्न भनि हिड्यौं।  अँध्यारो थियो।  रिफ्लेक्टर थिएन। पछिपछि आएका हेभी ट्रक र गाडीहरुको हर्न र थर्काहटले मानौं यमराजले लखेटिरहेकोछ, बिचरा साइकल!!

म अघि कुदें।  एउटा नयाँ होटेलमा सोधें।  'बेसमेण्टमा रुम छ, २ बेड छ तर झ्याल छैन।' यौटा केटोले भन्यो।  'धत् न बस्ने !' उता १९७ बाट फोन मागेर केटाहरुले केही  होटलसंग सोधेछन।  सबै तिर प्याक। अँध्यारो भैसक्यो, कता जाने ? हामी धुलिखेल बस कुर्ने लाइनको अपोजिट एउटा धिपधिप उज्यालो पसल अघि थियौं।  एउटा बैंक अघि  गार्ड भेटिए। दुइवटा सम्भावित ठाउँ देखाए।  म र संजिव खोज्न हिड्यौं उतै ।  थोरै उकालोको माथि ठूलो होटेल।  दुइटा केटाहरुले यौटा ४ बेडको कोठा देखाउदै भने - 'कमन कोठा हो, ट्वाइलेट बाहिर छ।  तातो पानी छैन।  भाडा रु ५०० मात्र।" हेर्दैमा कुनै बसपार्क तिरको झै लाग्ने कोठा।  'माथिको अलिक राम्रो कोठाहरु सबै एउटा ग्रुपले बुक गरेको छ ।  खाना खान परे उनीहरु संगै खानु पर्छ।' उनीहरुले थपे।   हामि त्यसै फर्कियौं।  

थाकेको बेला धुँइधुँइति कोठा खोज्नु पर्ने। बेलैमा हेल्चेक्र्याई गरियो, अहिले पर्खिंदा हल्का निराश। तर, समुहमा यस्तो चुनौती रमाइलै हो। म अर्को ठाउँ खोज्न हिडें-  सिढी चढेर।  लोड सेडिङ्ग परेछ।  अँध्यारो र सुनसान बाटो।  बाटो छेउका घरमा पर भान्छा भित्र एक जोडी मान्छे देखें, बोलाएँ । कसैले सुनेन।  होटेल झैं लागेन।  अघाडी गएँ।  गेट आयो।  बन्द झैँ।  सुस्तरी छोएको त खुल्यो।  भित्र पसें।  बायाँ तिर एउटा एकतले घर थियो।  बोलाएँ।  कोहि बोलेन।  चिहाएर हेरें।  सुनसान थियो।  सिधा अघाडी ५० मिटर टाढा अर्को घर देखियो।  त्यतै लागें - केहि सिंढी चढेर।  गार्डेन जस्तोको छेउमा त्यो घर दुइ तले थियो।  बायाँ तिर कटेज जस्तो बार देखियो।  घरको अघाडीबाटै चौडा सिंडी सिधै दोस्रो ताला गयो।  माथि हेरें।  सुनसान।  फर्केर घरको चक्कर काटें।  एउटा किचेन झैं कोठा भेटियो सिंढी मुनि तलामा।  रेडियो बजेको थियो।  मान्छे देखिएन।  झ्यालबाट कराएर बोलाएं - 'यहाँ कोहि छ ? ' जवाब सुन्य।  छेउको  पर्खालको सिधा अघाडी पूर्व तिर हेरे।  अर्को घर थियो। त्यसको आडैमा कुनै भवनको भग्नावशेष झैँ लाग्ने ठाउँ थियो। म अघाडी बढिन।  फर्कें।

म गेट न पुग्दै पछाडीबाट कसैले बोलायो - 'के खोज्नु भएको?' म पर्खें।  एउटा युवक आयो।  'यो होटेल हैन र ?' मैले सोधें।  'हो' उसले भन्यो। 'कोठा खोजेको, हामी ४ जना छौं ' मैले भनें ।  उसले गेट छेउको कोठामा बोलायो।  म पछि पछि पसें।  टर्चको उज्यालोमा हामीले कुरा गर्यौं। 'राम्रो कोठा छ, ठुला डवल बेड, एट्याच बाथरूम' । कोठा अर्को पल्लो घर तिर छ - उसले बिस्तार गर्यो। 'रु १५०० रेट, हेर्न जाने ? उसले प्रस्ताव गर्यो । त्यो रिसेप्सन कोठा थियो सायद। 'हेर्नु पर्दैन।  हामी बस्छौं।' अन्त हेर्न जानु भन्दा यहि ठिक छ होला।  नहेरेरै मैले ओके गरिदिएँ।

हामी साइकल काँधमा बोकी सिढी चढेर होटेल छिर्यौँ।  त्यो अघिको एकतले घरमा साइकल राख्यौं।  हामीलाई त्यो केटाले डोर्याएर अर्को घरको चौडा सिंढी उकालेर दोस्रो तल्ला पुर्यायो।  त्यो यौटा हल थियो वरिपरी सिसै सिसा भएको  सुनसान -  डाईनिङ्ग रुम।  खाना त अर्डर गरेसी बन्छ तर टाइम लग्छ। त्यसो भे रुममा जाउँ।  सिंढी ओर्लियौं।  दायाँ मोडिएर अघि देखेको कटेज झैँ लाग्ने बार को छेउ हुँदै ३/४ तले घर नजिक पुग्यौं।  भाग्नावासेश देखिने दृश्य दाहिने पारेर एउटा टनेल जस्तो मा भित्र पस्यौं। बाटोमा फेरी कुनै चहलपहल सुनेनौ।  'आज न्यु ईअर, धुलिखेलको यो होटल त सुनसान किन' भनि सोध्यौं।  'यस्तै हो' त्यो केटोले भन्यो।  'अरु कोहि छैन?' फेरी सोध्यौं।  'छन्. उता छन्. ' उसले भन्यो तर कोहि देखिएन।  मोबाइल टर्चको मसिनो उज्यालोमा सानो गल्लि, भर्यांग, कुनो काटेर एउटा रूममा पुग्यौं।  कोठा ठुलो, बेड राम्रै, काठको भुँई, बार्दली, बेतका कुर्सि।  लौ यो हाम्रो आजको बास।   ठिकै हो।  तर, होटेल प्रवेशगरेदेखि रूम पुगुन्जेलको प्रसङ्गले हामीलाई अनायास 'हाउण्टेड हाउस' जस्तो बन्यो। अनि 'हरर मुभी' सम्झिन पुग्यौं।  र, हाम्रा गफहरु 'भूतका कथा'मा केन्द्रित भए।

अँध्यारो, एकान्त, सुनसान  र डरलाग्दो वातावरणले 'भूतका कथा' लाई एम्प्लिफाई गरिदिन्छ। हरर इफेक्ट थपिदिन्छ। हामीले किच्किन्नी, सेतो र कालो ख्याक, मुर्कट्टा, जोम्बी, आत्मा आदि सुनेजति भूतका गफ गर्यो।  यसले बातावरण भययुक्त तर रोमाञ्चक बनायो।  महेशलाई भूतका धेरै किस्सा थाहा रहेछ।  हाम्रो कोठाको बाथरुम पनि डरलाग्दो थियो - कोमोटको पानी ट्यांकमा बिर्को थिएन। अँध्यारोमा कसैको हात त्यसैमा चोबिएछ।  सिंकमा पानी खोल्न मुनितिरको डल्लो घुमाउंदा पानी अन्तै पुग्थ्यो।  धाराको पानी खोल्दा, सावरबाट बर्सेर भिजाउन्थ्यो।  सबै बन्द भयो भनेर बाहिर निस्किएपछि धारा कराउन्थ्यो।  ढोकाको छिस्किनी फलामको एउटा किला थियो अस्थाई  भने मूल ढोकाको छिस्किनीले काम गरेको थिएन ।  अर्थात्, कोठा खुल्लै हुन्थ्यो।

हामी डिनरको लागि उही डाइनिङ्ग हल गयौं।  पुनः सुनसान थियो। मेनु हेर्यौं, अर्डर त सोधेर मात्र दिनु पर्ने। मागेका कुरा निकै ढिला आइपुगे मानौं हाम्रो अर्डर लिएर उनीहरु बाहिर अन्त कतै अर्डर दिन पुगेका थिए।  अब दोस्रो केटो देखियो।  'मादल छ ?' सोधियो।  'छैन,  गितार छ तर तपाइँहरुलाई हुन्न होला।' उसले स्याट्रिकल जवाब दियो।  'ल त्यै गितार ल्यार आउ त !' संजिव बोले।  उनलाई बजाउन आउने कुरो थाहा भयो। तर, त्यो केटाले गितार कहिल्यै ल्याएन।  हामीले त्यो केटा हलमा छिरेपिच्छे सोधिरह्यौ। केटो भन्थ्यो ' दाइले बजाउदै छ ' तर त्यो सुनसानमा कतै गितारको आवाज थिएन । हामीले टेबल ठोकेरै म्युजिक निकाल्यौं र गीत गायौं।  थोरै नाच्यौं।  बाँकी भूतकै गफ।  केटोले १०:३० तिरै पिउने चिजको अर्डर रित्तिएको सूचना दियो। 'अब के गर्ने, जाउँ कोठा तिर।'

खाट जोड्यौ र एउटा भुँई बेड थप्यौं र मध्यरात्रीसम्म जागा रहने उपक्रममा गफिन थाल्यौं -  यात्राको रिफ्लेक्सन।  समग्रमा भोलि यो शरीरको हालत के होला? काठमाडौँ कसरी पुगिएला भन्ने चिन्ता।  हालसम्म यो होटेलमा जम्मा २ जना केटाहरुमात्र देखा परेका छन्।  अरुको केहि नामोनिसान छैन।  महेश बार्दली तिर निक्लिए र एकछिनमा उतैबाट कराए 'ओए केटाहरु  हो ! हेर त उ तल एउटा बच्चा पाल्टेको छ '. भूतका किस्सासंगै दिग्भ्रमित भए कि क्या हो ? हामीले उडायौ।  'साँच्ची हो भन्या। ' थपे।  संजिवले चिहाएर हेरे र भने 'हो यार, बच्चा छ। ' यो राति ११:१५ तिर कसरी हुन्छ ? वाहियात ! कुरो फेरी भूतको कथाहरुमा मोडियो।  'के थाहा, कोही भूत हाम्रो अवतारमा आएको आएको पो छ कि ?' 'हामी ४ जनामा कुनै एक जना भूत रे, तर कसरी चिन्ने?' 'ऐनामा हेरौं' भन्दै म र राजेशले बार्दलीबाट त्यो बच्चा नहेर्ने भयौं। (बास्तवमा बिहान उज्यालोमा त्यो ठाउँ हेर्दा एउटा कालो प्लास्टिक रेलिङ्गमा कोचेको दृश्य थियो त्यो, जुन टाउको र ढाड झैँ देखिन्थ्यो।)

अन्त तिर न्यू ईअर को धुमधाम होला हाम्रो हाल यो छ। थाकेर चुर हामी कतिबेला निदायौं पत्तै भएन।  त्यो राति मिडनाईट आयो कि आएन।




           

No comments:

Post a Comment