Saturday, April 19, 2014

साइकलमा नयाँबर्ष - सहर-गाउँ, सम्पदा र प्रकृतिसंगसंगै ! - ३


हामी कुन बाटो जाने भनेर केहि बहस चल्यो। हाम्रो अप्सन भनेको नाला भन्ज्यांग वा साँगा भन्ज्यांग।  अब अघाडी बाटो उकालो हुनेछ। महेशले नालाबाट जाने प्रस्ताव ल्याए।  यो सबैकोलागि नौलो बाटो हो।  राजेश र संजिव साँगाको पक्ष देखिए। किनकि यो भंज्याँग सबसे होचो छ।  त्यसैले त अरनिको राजमार्ग यतैबाट जान्छ। तर नालाको बाटोका केहि फाइदा छन् जस्तै कम ट्राफिक, कम धुलो, कम धुँवा र नयाँ ठाउँ।  हामीले स्थानीयलाई सोध्यौं - बाटो अधिकांस कालोपत्रे छ र केहि छोटो पनि छ। अन्ततः हामी नाला हुँदै जाने भयौं।  भक्तपुर दत्रात्रय मन्दिरको सिधा पुर्व हान्नियौं।  हामी हिंड्दा आकासले पानी पर्ने संकेत गरेको थियो भने  घडीले २ बजेको संकेत।

वातावरण सितल र रमणीय। केहि बेरको आरामी र खानापछि फुर्तिलो बनेको शरीरले  पाईडल घुमाउँदा साईकलपनि जोशिलो र फुर्तिलो बनेझैं लग्यो। ' क्या आनन्द ! यस्तो साइकलिङ्ग त वीक्ली गर्नु पर्छ है केटा हो !' महेशले भने।  'हो, त्यसो गरे राम्रै हुन्छ होला ' राजेशले थपे।  हाम्रो बाटोले अब गाउँ पछ्यायो - पहाडी गाउँ ।  कहिले को अघि कहिले को अघि गर्दे गाउँ भित्रको एकसरो नागबेली बाटोमा हामी कुद्यों . खुल्ला बस्ति, खेतका फाँट, हल्का उकाली र ओराली हुँदै स्वस्छंद साइकल विचरण यौटा स्वर्णिम अनुभव हो।

सडक किनारा, खेतका आली, र घरको आँगनमा खेलिरहेका केटाकेटीहरु हामीलाई देखि  'नमस्ते !',  'हेल्लो ! हाउ आर यु ?' भन्थे।  अनि हामीले 'नमस्ते भाई' वा 'हाई, ठिक छ' भने पछि 'ए यो त नेपाली पो रहिछ' भन्थे । आज यो बाटोमा केवल हाम्रो मात्र साइकल गुडेका थिए सायद। र नेपाली साइकलिस्ट निकै कम हिड्छन होला । नाला भन्ज्याङ्गको ५  किमि यताबाट बाटो बिस्तारै उकालिन थाल्यो।  कतै ग्राभेलबाटो आयो।  लागातार ऊँभैऊँभो लागेको बाटोले थकाउन थाल्यो। पछिल्लो २ किमि बाँकी रहंदा यौटा गाउँको उकालो घुम्तीले साइकल डोर्याउन बाध्य पर्यो।  बाटोमै बस्यौं।

हाम्रो साइकल देखेर गाउँका फुच्चेहरु आए।  साइकल छोए।  हामीले तिनीहरुलाई फ़ोटोग्राफर बनायौं।  साइकल चढ्न दियौं। जिस्कायौ र गफ गर्यौं।  तिनीहरु रमाए। हामीलाई बाटोको बारे बताए । हामी केहि  माथि पुगेर फोटो खिच्न रोकियौं।  गाउँको  यौटा पसलवालाले हाम्रो फोटो खिचिदिए। 'नाला तिर बस जान्छ ? उनैलाई सोधे।  'जान्छ, तर अहिले त छैन होला।' उनको जवाफ।  हामी बढ्यौं अघि।   छिनमा घुम्ती  उकालो आयो।  थोरै जंगल आयो।  संजिव र महेशले डोर्याए।  राजेशले खुब ट्राई गरे तर सकिएन।  यौटा  मिनी ट्रक आयो र गयो।   गएको ट्रक तिर हेर्दै 'यार, उ  त्यो भन्ज्यांगसम्म  यसमा जान पाए हुने नि' तर ट्रक त गैसक्यो।  आर्को  आएन।  फेरी केहि कुदेर र केहि डोर्याएर पखेरा र थोरै जंगलको एकान्तबाटो हुँदै हामी उकालो चढ्यौ। थाकेर रोडमा लम्पसार सुतियो, फोटो खिचियो।  अनि, नाला ० किमी पुग्यौं ४ बजे तिर।


भर्खरै बन्दै गरेको गुम्बाको अघिल्तिरको पसलमा चिया खान रोकियौं।  'चिस्स्स्सो ड्रिक्स छ?" सोधियो।  'सर, बति नै थिएन त्यसैले चिस्स्स्सो छैन' . 'खानेकुरा के छ त?' 'सर, अहिले गुम्बामा काम रोकिएको छ, त्यसैले खासै केहि छैन त्यै चाउचाउ हो। ' ' भो अरु न खाने,  चिसो देउ।' सबैजना थाकेका।

 'ओहो लोत परियो' थकित अनुहार। यो 'साइकलको सिट किन यस्तो सार्हो? बिग्रेको परेछ कि क्या हो।  निकै दुखायो ' अब साइकलको ईञ्जिनियरिङ्लाई दोष दिन थाले केटाहरु ।   'धत्, सकिन्न यसरी -  यो त हप्तामा के महिनामा पनि फेरी सकिन्न। क्वाटर्लि एकपल्ट।' महेशले अघि भक्तपुरको कुरो सम्झीए । 'आज बनेपा बस्ने त होला, धुलिखेल  सकिन्छ ? पुरै उकालो छ यार।  दिनभर थाकिएको छ, कसरी  चढ्नु?' संजीव बोले।  'ग्राभेल बाटोमा सिट थर्किएर बस्ने गार्हो' राजेशको चिन्ता । 'तराईमा चल्ने लोकल बसको ड्राइभर बसेको झैं भयो - एकधारे बसाइ' महेशको  भोगाई।

हामी अघि  बढ्यौं।  यो बाटो ओरालो गएर एकछिनमा बनेपा बजार मिसिन्छ। हामी फ़िलिलि हुँईकियौं।  

1 comment:

  1. यात्रा साँच्चै अबिस्मरणिय भएछ । बधाई छ ।

    ReplyDelete