Friday, September 19, 2014

रहरको दौड - धुलेबाटो र म्याराथन

काठमाडौँ म्याराथन - शनिबार,  सेप्टेम्बर २०, २०१४। आठौँ संस्करण । भोलि।  म लगातार तेस्रो पटक भाग लिंदै छुँ। र हाफ म्याराथनको यो दोस्रो प्रयास हुनेछ।  र यसपालाको जर्सी नम्बर  ५१६।


यसको सूचना त पोहरको 7th Kathmandu Marathon को फिनिश गेटमै टाँसेको थियो तर आयोजकले यसपाला कुनै पब्लिसिटी नै गरेनन् । र यो रेस हुने न हुने टुंगो डेढहप्ता अघिसम्म पनि थिएन। सर्न सक्ने हल्ला पनि आयो। सोसलमेडिया वा वेभसाईड कतै पनि आप्डेट थिएन। अन्योल थियो । हाम्रो पूर्व सहकर्मी प्रभरणजी, जो यो इभेन्टसंग केहि सम्बन्धित हुनुहुन्थ्यो, ले पनि निश्चित खबर दिनसक्नु भएको थिएन ।  मैले अर्गनाइजरलाई पठाएको इमेलको रिप्लाईमा "टाइटल स्पोन्सर न भएकोले पुरा प्रचार गर्न नसकिएको तर यो म्याराथन हुने निश्चित छ' भनेर पाएँ ।   सेप्टेम्वर १५ मा , जम्मा ५ दिन अघाडी। त्यसैले खासमा राम्रो तयारी गर्ने माहोल नै बनेन।

केहिहप्ता अघिबाट मैले दौडने अभ्यास सुरु गरेको थिएँ, एक्लै।  कहिले सातदोबाटोको स्विमिङ्गपुल कम्प्लेक्सको ट्रयाकमा त कहिले ज्वागलको युएन पार्कको ट्रयाकमा।  एक्लै दौडेको फोटो सोसियल मेडियामा राख्थे किनकि मलाई आफ्नो निम्ति आफै दवाव सिर्जना गर्नु थियो नत्र कुनै पनि शारीरिक पररिश्रम पर्ने काम बिचैमा त्यागिन्थ्यो।  अरुले कमेन्ट, कम्प्लिमेन्ट वा डिस्कसन गर्दा त्यो कामलाई निरन्तरता दिन प्रेरणा वा दवाव दुवै पर्दो रहेछ।  मैले हौसिएर निकै दौडिने गरें। नाइकीप्लसको एप्समा भएको 'भर्चुअल ट्रेनर'ले सेट गरेको तालिका अनुसार प्रयास गरें ।  खलखली पसिना बग्ने गरि कुदें । अघि अघि दौडिने कोहि अपरिचित रनरलाई फलो गरेर उ न रोकिन्जेल दौडिने गरेँ।  एकैपल्ट १३ किमीसम्म दौडें। निकै आत्मविश्वासबढ्यो।  केहि समय पछि परिणाम विपरीत आयो - मसल पेन। घुँडामुनि पछाडीदेखी कुर्कुच्चासम्म भएका टेण्डन दुखे।  शंका लग्यो।  युट्युबमा रनिङ्ग सिपबारेका भिडियोहरु खोजेर हेरें।  पत्ता लाग्यो।  मेरो फुट पोजिसन नै गलत रहेछ। पन्जाले टेक्नु पर्ने तर म कुर्कुच्चाले टेक्दो रहेछुँ।  प्रोफेसनलहरु बाहेक करिव ९०% को बानी कुर्कुच्चाले टेक्ने हुँदो रहेछ।  अनि सुधार्न प्रयास गरें।  नयाँ तरिकाले दौडें।  फेरी दुख्यो किनकि नयाँ मसल प्रयोगमा आयो। निरन्तरता दिन सकिनँ।  दुई  हप्ता लग्यो सबै मांशपेशीको दुखाई जान।  फेरी प्राक्टिस सुरु गरें।  अब ५-७ किमि दौडिने गरेँ। केहि सुधार भयो। 

अफिसतिरका र अन्य साथीहरु निकै उत्साही थिए । सबैको तयारी कम, उत्साह बढी भयो। यहि छोटो समयमा पनि करीब ४२ जना (अफिसका सहकर्मी र अन्य चिनजानका साथीहरु) हाम्रै नेटवर्ककाहरु ले दर्ता गरे।  रमाईलोको लागि उन्त्साह नै चाहिने हो।

सतिशजीलाई अनुरोध गरेर नयाँ रनरहरुको निम्ति छोटो तयारीको टिप्स/सल्लाह सेसन गरियो।  केहि रनरहरुलाई जवर्जस्ती फकाउनु परेपनि, चहलपहल, कुराकानी र जर्सी भएपछी त उमङ्ग बढ्ने नै रहेछ।  सबै एक्साइटेड बने।  यसपाली भवानीजीले पनि हाफ मराथान दौडने निर्णय गरे।


छोटो समय र अन्य व्यस्तताले यसपाली कुनैखाले  'सोसियल' कार्यको निम्ति क्याम्पेन गर्ने योजना बन्न सकेन।  फेरी यस्तो कामको लागि यौटा टिम वा सक्रियता देखाउने केहि व्यक्तिहरु भए प्रभावी हुन्थ्यो जुन यसपाला कोही भेटिएन।  तर, जेहोस् 'फन' र 'पर्सनल एडभेन्चर' को निम्ति दौडिने भइयो।  

पोहर झैँ यो पालाको इभेन्ट पनि त्रिपुरेश्वरको दसरथ रंगशालामै शुरु र अन्त हुने छ।  ५ किमिको लागि रुट पनि उही छ।  तर, हाफ र फुल म्याराथनको रुट भने भिन्न रहेछ।  यो वर्ष नयाँ रुटको अनुभव हुने भयो - थापाथली चोक - पाटन क्याम्पस - शंखमूल - बानेश्वर - तिनकुने - गौशाला - चावेल - नारायणगोपालचोक - दरवारमार्ग - शहीदगेट।

नयाँबाटोमा आफै लक्ष र आफ्नै कम्फर्ट जोन सँग संघर्ष गर्दै आफैलाई जित्ने थोरै साहसिक प्रयासलाई सम्पन्न गर्दै - फ़िनिशिङ्गलाईनमा पुगेको रोमान्चक कल्पना आईरहेको छ।   (बाँकी भोलि)
 














सातौँ संस्करण बारेको यी ब्लगहरु पनि पढ्नुहोस्:  
Blogs on 7th Kathmandu Marathon (1)
Blog on 7th Kathmandu Marathon (2)
Blog on 7th Kathmandu Marathon (3)



No comments:

Post a Comment